मतदान सकिनेबित्तिकै गणना, केहीबेरमै परिणाम :राष्ट्रियसभा निर्वाचन
काठमाडौं : निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिनेबित्तिकै गणना प्रारम्भ हुने र केहीबेरमै मत परिणाम आउने बताएको छ।राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ।
आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको छ। आजै परिणाम सार्वजनिक हुनेछ।
राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन्।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ।