वर्षकै म्याग्दीमा पहिलो हिमपात
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ।
जिल्लाका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको हो।
गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीमा हिमपात भएको हो। जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरीर भेडिओढार लगायत ठाउँमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन्।
वर्षासँगै हिमपात भए पछि चिसो निकै बढे पनि हिउँदेबाली सप्रिने भएकाले कृषक खुशी भएका छन्। लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न लागेको थियो।
‘हल्का वर्षासँगै भएको हिमपात भयो। लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर चिन्ता थियो’, धवलागिरि गाउँपालिका ५ मल्काबाङका टेकबहादुर छन्त्यालले भने,‘यो हिमपात र वर्षाले केही राहत भएको छ।’