रव, दुर्गा र उमामहेश्वर अमेरिकाबाट नेपाल फर्किँदै छन् भ
दोलखाका दुई भैरव मूर्ति एउटै महिना तर फरक सालमा चोरी भएका थिए – २०५० र २०५१ माघमा।
चोरी भएर विभिन्न ठाउँ हुँदै यी मूर्ति पछिल्लो समय अमेरिका पुगेका थिए। तीन दशकपछि यी दुई भैरव नेपाल फिर्ता आएका छन्।
दुई भैरवका मूर्तिसँगै च्यासलको उमामहेश्वरको र कुन ठाउँको भनेर पत्ता नलागेको दुर्गाको मूर्ति पनि सोमबार (आज) एकसाथ नेपाल फिर्ता हुन लागेका हुन्।
चोरी भएर विदेशका कुनाकुना पुर्याइएका यी चार भगवानका मूर्ति दशकौंपछि फेरि नेपाल फिर्ता हुन कसरी सम्भव भयो?
यसबारे जान्नुअघि हामी यी मूर्तिकै बारेमा जानौं, सुरूमा दोलखाका भैरव मूर्तिबारे।
दोलखाका यी दुई भैरवका संरक्षणकर्ता एवं पुजारी हुन् यज्ञकुमार प्रधान। यी मूर्ति उनको ‘नकछें प्रधान’ परिवारलाई अंशबन्डाको भागमा रूपमा परेका थिए। दोलखामा नकछें, कोर्छे लगायत विभिन्न प्रधान परिवार छन्। आफ्नो कुलको जन्म भने यिनै भैरवबाट भएको हुनसक्ने यज्ञकुमार बताउँछन्।
दुई भैरव आफ्नो भागमा अंशका रूपमा परेपछि उनको पुर्खाले आफ्नो देवता घर (आगम) मा राखेका थिए। त्यहीँ पुस्तान्तरण हुँदै उनी यसका संरक्षक भएका हुन्।
यज्ञकुमारले देलखाका सम्पदाबारे ‘दोलखाको साँस्कृतिक सम्पदा’ नामक किताब लेखेका छन्। यी भैरवबारे वर्णन गर्दै किताबमा उनले लेखेका छन्, ‘इन्द्रजात्रा र कात्तिक पूर्णिमाका दिन निजी कुल आँगनमा रहेका भैरव मूर्तिहरूलाई सार्वजनिक स्थान वा घरको बार्दलीमा राखेर प्रदर्शन गरिन्छ। यस्ता मूर्तिलाई स्थानीय भाषामा ‘हाँथ्वो’ भनिन्छ। अन्याय, अत्याचार वा नौ ग्रह दशाबाट पीडितहरूको रक्षकका रूपमा भैरवलाई मानिन्छ। यही कारण टोलटोल र घरआँगनमा भैरवका मूर्ति स्थापना गरी पुज्ने गरिएको हो।’
यसरी पुजिँदै आएका यी दुईमध्ये एउटा भैरवको मूर्ति २०५० सालमा चोरी भयो। मूर्ति हराएको महिना दिनमा यज्ञकुमारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
त्यस बेला यो मूर्ति मात्र नभई देवताघरमा भएका करिब तीन सय वर्ष पुरानो अर्को मूर्ति, मूलदेवी त्रिपुरासुन्दरी, स–साना अन्य मूर्तिहरू, शालिग्राम, शिवलिंग र पुराना ग्रन्थसमेत चोरी भएका थिए।
प्रहरीमा निवेदन दिए पनि भैरव र अन्य सामग्रीहरू फेला परेनन्। बरू अर्को साल फेरि देवताघरमा बचेको एउटा भैरवको मूर्ति पनि चोरी भयो। यज्ञकुमारले पुनः प्रहरीमा निवेदन दिए। जिल्ला प्रहरी कार्यालयबाट आफ्ना सम्पदाबारे केही खबर नआएपछि उनले काठमाडौंस्थित हनुमानढोकामा रहेको अपराध अनुसन्धान शाखामा समेत निवेदन लेखे। त्यही पनि मूर्ति फेला पर्न सकेन।
चोरी गर्नेले दुई भैरवका टाउका मात्र काटेर लगेका थिए। मूर्तिको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो। दुई मूर्तिमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ। अभिलेख अनुसार मूर्तिको स्थापना मिति १५५० साल हो। यसलाई भगवानघरमा भने १६८९ सालमा स्थापना गरिएको थियो।
दुवै भैरव मूर्तिको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुनसक्ने यज्ञकुमार अनुमान गर्छन्। आकार भने एउटा ठूलो र अर्को अलि सानो छ।
खबर पाएपछि अनिलचन्द्र र यज्ञकुमारले नेपालका मूर्ति फिर्ता ल्याउन पहल गरिरहेको अभियान ‘नेपाल हेरिटेज रिकभरी क्याम्पेन’ लाई सम्पर्क गरे। मूर्ति फिर्ता ल्याउन सहयोग गर्न आग्रह गरे। मूर्तिका यस्ता घटना आउनेबित्तिकै यो अभियानले पुरातत्व विभागसँग समन्वय गर्छ। त्यसपछि आफूहरूले म्यानहटनका सरकारी वकिललाई सन् २०२२ जनवरीमा पत्र लेखेको अभियानका सचिव सञ्जय अधिकारीले बताए।
‘म्यानहटनसँग हाम्रो पटकपटक छलफल भयो। उनीहरूले संघीय अनुसन्धान ब्युरो, विशेष एजेन्सी लगायत माध्यमबाट मूर्ति फिर्ता ल्याएका हुन्,’ उनले भने।
म्यानहटनले यी मूर्तिसँगै अरू दुइटा मूर्ति पनि संकलन गरेको थियो। म्यानहटनको विज्ञप्ति अनुसार भैरवको मूर्ति चोरी भएपछि सुरूमा हङकङ लगियो। त्यसपछि न्यूयोर्कमा लिलाम भयो। अनि एउटा मूर्ति रूबिन र अर्को डलास म्युजियम पुग्यो।
यसरी हराएका दुई भैरव मूर्ति तीन दशकपछि नेपाल आउने भएका हुन्।
अब कुरा गरौं उमामहेश्वरको मूर्तिबारे।
अमेरिकाको ब्रुकलिन म्युजियममा उमामहेश्वरको मूर्ति फेला परेको थियो। म्युजियमलाई यो मूर्ति बेन र रोस्लिन सेप्स नामका व्यक्तिले सन् १९९१ मा उपहार स्वरूप दिएका थिए। त्यसमा भएको अभिलेखले यो मूर्ति नेपालको हो भनेर प्रमाणित हुन्थ्यो। अभिलेखमा मूर्तिबारे भन्दा पनि मूर्ति राखिएको फल्चा (पाटी) बनाउने मान्छेको विवरण छ।
त्यसमा लेखिएको छ, ‘सन् १८८८ (नेपाल सम्बत ७०९) मा काठमाडौं ओमबहालका गोपाल भारोले यो फल्चा निर्माण गरेका थिए।’
मूर्तिबारे यति विवरण पत्ता लागिसकेपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेनले यसको अनुसन्धान थाल्यो। अनुसन्धान क्रममा यो मूर्ति पाटनस्थित च्यासल हितिमा रहेको पत्ता लाग्यो।
च्यासल हितिमै खिचिएको मूर्तिको एउटा पुरानो फोटो हन्टिङटन आर्काइभमा फेला परेको थियो। त्यसअनुसार सन् १९७० मा यो मूर्तिको फोटो हन्टिङटनले खिचेको थियो। यो मूर्ति उक्त फल्चाबाट कहिले हरायो भन्नेबारे त्यहाँका स्थानीय र सरोकार निकायले जाहेरी दिएको प्रमाण छैन। यही थियो भन्ने मानिसको स्मृतिमा भने छ। हन्टिङटनको फोटोले भने यो मूर्ति सन् १९७० पछि मात्र हराएको भने भन्न सकिन्छ।
‘यो मूर्ति चोरी हुँदा हामी सानै थियौं। तर यहाँका बुढापाकाले भने यहाँ मूर्ति थियो भन्नुहुन्छ,’ च्यासलका स्थानीय रायन व्यञ्जनकारले भने, ‘यो मूर्तिसँगै यो फल्चा र हितिमा भएका अरू मूर्ति पनि चोरिएका थिए। ती मूर्ति पनि फिर्ता आउने क्रममा छन्।’
नेपाल फिर्ता आउन लागेको अर्को मूर्ति हो दुर्गाको।
यसमा दुर्गाका चारवटा टाउका र दस हात छन्। एक हातमा उनले हतियार बोकेकी छन्। म्यानहटनले सार्वजनिक गरेको विवरण अनुसार यो मूर्ति भारतका सुवास कपुर भन्ने मूर्तिचोरको गिरोहले चोरी गरेको हो। कपुरले सञ्चालन गरेको ‘जीशान’ र ‘जाहिद बट’ भन्ने सञ्जालमार्फत यो मूर्ति तस्करी गरिएको थियो।
‘नेपालबाट मूर्ति चोरी भएर भारतको बैंकक हुँदै सन् २००० तिर अमेरिका पुर्याइएको थियो,’ म्यानहटनले आफ्नो विज्ञप्तिमा लेखेको छ, ‘एक दशकसम्म हामीले कपुर र उनको गिरोहले चोरेका सामग्रीहरूको अनुसन्धान गरेका थियौं। सन् २०११ देखि २०२३ सम्ममा हामीले उनको सञ्जालले चोरी गरेका २५ सय वटाभन्दा बढी सामग्री संकलन गरिसकेका छौं।’
नेपाल र दक्षिण एसियाका सामग्रीहरू चोरी गर्ने कपुर र उनका गिरोहका केही मानिस अहिले जेलमा सजाय भोगिरहेका छन्। उनीहरूले चोरेका सामग्री भने म्यानहटनले जुन देशको हो, त्यही देशमा फिर्ता गरिरहेको छ।
त्यही क्रममा दुर्गाको मूर्ति नेपालको हो भन्ने भएपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेनले एकसाथ फिर्ता ल्याउने पहल गरेको हो।
गत महिना म्यानहटनले यी चारै मूर्ति न्यूयोर्कका नेपाल कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
यसरी मूर्तिहरू नेपाल फिर्ता हुनुलाई नेपालका सांस्कृतिक सम्पदा पुनः प्राप्ति र ऐतिहासिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण कदम मान्छन् कार्यवाहक महावाणिज्यदूत गौतम।
‘यो कदमले हराएका सांस्कृतिक सम्पदा पुनः स्थापनामा गर्ने राष्ट्रिय प्रयासमा ठूलो योगदान पुर्याएको छ। नेपाल र म्यानहटनबीचको सहकार्य सांस्कृतिक वस्तुको अवैध ओसारपसार विरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायका लागि सराहनीय र प्रेरणादायी छ,’ म्यानहटनले जारी गरेको प्रेस विज्ञप्तिमा गौतमले भनेका छन्।
यी चार मूर्ति फिर्ता ल्याउनमा अमेरिकाको नेवाः गुठीको पनि हात छ। गुठीले मूर्तिहरू अमेरिकामा रहेको थाहा पाएपछि चाँडै नेपाल पठाउन पहल गरेको हो।
नेवाः गुठीका अध्यक्ष विजयमान सिंहका अनुसार नेपालको मूर्तिबारे थाहा पाउनेबित्तिकै उनीहरूले न्यूयोर्कका नेपाल कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई सम्पर्क गरेका थिए। त्यहाँबाट फिर्ता ल्याउन धेरै समय लाग्ने जानकारी आएपछि गुठीबाटै ल्याउन पहल गरियो।
‘केही समय लाग्यो तर सबै प्रक्रिया पुर्याएपछि उहाँहरूले नेपाल फिर्ता ल्याउन दिनुभयो,’ मूर्ति लिएर नेपाल आउँदै गरेका उनले हामीसँगको च्याट कुराकानीमा भने, ‘हामीले ल्याउँछौं भनेर पहल नगरेको भए अझै धेरै समय लाग्थ्यो।’
अब यी मूर्ति फिर्ता आइसकेपछि के गरिन्छ?
चोरिएका मूर्ति फिर्ता ल्याउने अभियानका सचिव सञ्जय अधिकारीका अनुसार सुरूमा सबै मूर्ति पुरातत्व विभागमा आउँछन्। त्यसपछि कुन ठाउँका हुन् भनेर पत्ता लागेका मूर्तिलाई प्रक्रिया पूरा गरेर त्यही ठाउँमा फिर्ता गर्ने तयारी हुन्छ। जुन मूर्तिको स्थान पत्ता लागेको छैन, त्यसलाई छाउनी संग्रहालयमा राखिन्छ।
पाटन च्यासलका स्थानीयहरू वर्षौंपछि फिर्ता आउन लागेको मूर्तिको भव्य स्वागत गर्ने तयारीमा छन्।
‘मूर्ति बाजागाजासहित भित्र्याउने कि भन्ने कुरा चल्दै छ,’ च्यासलका रायनले भने।
दोलखाका अनिलचन्द्र पनि आफ्ना भगवान भित्र्याउन उत्साहित रहेको बताउँछन्। दोलखाका दुई भैरव चोरी भएपछि त्यहाँ नयाँ भैरवको मूर्ति स्थापना गरिएको थियो। पुरानो भैरव फर्किएपछि पुरानोलाई पनि यथावत राख्दै पूजा गर्ने योजना रहेको उनले बताए।
‘हामीले पूजा गर्दै आएकाले अहिले भएका भैरव पनि हाम्रो भगवान नै हुन्। पुराना आउँदैमा यी भगवान हामीले पन्छाउन मिल्दैन। त्यसैले सबैलाई पूजा गर्छौं,’ अनिलचन्द्रले भने।
दुर्गाको मूर्ति भने कहाँबाट चोरी भएको भनेर स्थान पत्ता नलागेकाले छाउनी संग्रहालयमा राखिनेछ।
नेपालका मूर्ति विदेशबाट फिर्ता ल्याउन पहल गरिरहेको नेपाल हेरिटेज रिकभरी क्याम्पेन सञ्चालनमा आएको जम्मा दुई वर्ष भयो। यस अवधिमा करिब तीस वटा मूर्ति फिर्ता ल्याउन यो अभियान सफल भइसकेको छ। अब करिब एक सय ३० वटा मूर्ति फिर्ता ल्याउने प्रक्रियामा रहेको अभियानका सचिव सञ्जयले बताए।
‘हाम्रा थुप्रै मूर्ति अझै पनि प्रत्येक दिन लिलाम भइरहेका छन्। जसलाई उनीहरू राम्रो कला भनेर किनबेच गरिरहेका छन्, ती हाम्रा भगवान हुन्। ती हाम्रो आस्था र विश्वास जोडिएका कुरा हुन्,’ उनले भने।
अब भने पहिलेजस्तो मूर्तिहरू चोरी भएर विदेश पुग्न निकै गाह्रो हुने उनको भनाइ छ।
‘अहिले हाम्रो समाज र सरकार सचेत भइसके। क्युरियोले पनि टुटफुट भएको र अबिर लागेको मूर्ति लग्दैन। हामीजस्ता थुप्रै मानिस मूर्ति जोगाउने अभियानमा छौं। त्यसैले कसैले पुरातत्व र क्युरियोलाई मिलाएर मूर्ति लान्छु भन्छ भने त्यो कुरा मलाई विश्वास लाग्दैन,’ उनले भने, ‘अहिले पनि बेलाबेला मूर्ति चोरी हुन्छन् तर भेटिन्छन्। जति भेटिएका छैनन्, ती बाहिर लाने ठीक समयको पर्खाइमा छन्। उनीहरूसँग मूर्ति फिर्ता गर्नुबाहेक अरू उपाय देख्दिनँ।’