पाँच जनाको मृत्यु बितेको २४ घण्टामा सवारी दुर्घटनाबाट

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

पाँच जनाको मृत्यु बितेको २४ घण्टामा सवारी दुर्घटनाबाट

काठमाडौं : पछिल्लो २४ घण्टामा मात्रै देशभरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। नवलपरासीपूर्व, रुपन्देही, धनुषा र महोत्तरीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

नवलपरासी पूर्व, बुलिङ्टार गाउँपालिका-१ मोजडाँडास्थित सडकमा लु.४त २३१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ बुलिङटार बस्ने ३५ वर्षीय चन्द्र बहादुर दर्लामीको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई स्वास्थ्य चौकी बुलिङ्टार पठाएकोमा १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनतर्फ  रिफर गरिएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, रूपन्देहीको देवदह नगरपालिका-६ गिद्धे भिरस्थित सडकमा लु.२ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू छन्। दुर्घटनामा घाइते भएका टिपर चालकसमेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको छ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका-९ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही नगरपालिका-९ सुन्दर बस्तीस्थित सुँगुर फर्ममा काम गर्ने मोरङ घर भएका ५५ वर्षीय मुन्न बास्कोटाको बिहीबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले चौतर्फी खोजिरहेको छ।

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका-६ फुल्काँहामा ना.४२प ७०५१ नम्बरको मोटरसाइकल र प्र.२-०२-००५ प ५७८० नम्बरको मोटरसाइकल एक(आपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घाटना हुँदा ना।४२प ७०५१ नम्बरको मोटरसाइकलमा सवार औरही नगरपालिका(५ बस्ने ७० वर्षीय रामनाथ यादवको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको प्राथमिक स्वाथ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकलाई सामान्य उपचार गरी डिस्चार्ज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय