स्वस्थानी व्रतकथा भेटियो जंगबहादुर राणाको पालाको

२०८० पुष २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्वस्थानी व्रतकथा भेटियो जंगबहादुर राणाको पालाको

 

 

 

 

काठमाडौं : ‘तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या। तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ। तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या।’

 

यो अनुच्छेद स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वप्रधानमन्त्री जङ्गबहादुरको पालाको हो।

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रलाल मुमिकश श्रेष्ठले १९१५ साल अर्थात् १६५ वर्षअघि लेखेको  ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक संकलन लेखेका थिए। चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थ छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ। श्रेष्ठ परिवार २७५ वर्षअघि ललितपुरको कुम्भेश्वरबाट सङ्खुवासभाको चैनपुर पुगेको थियो।

चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले त्यसबेला नेवार समुदायको आवश्यकतालाई मनन गरी आफ्नै परिवेशमा स्वस्थानी व्रतकथाको रचना गर्नु महत्त्वपूर्ण भएको बताउँछन्। ‘यो ग्रन्थलाई चैनपुरमा संरक्षण गर्दै आएका थियौँ । घर घरमा पाठ गर्ने यो धार्मिक ग्रन्थलाई सबैको पहुँचमा पु¥याउन छापेका हौँ’, उनले भने।

बजारमा पाइने स्वस्थानी व्रतकथाका पुस्तकमा ३१ अध्याय भए पनि चैनपुरको ऐतिहासिक स्वस्थानी व्रतकथामा २२ अध्याय लेखिएको छ । नेपाली भाषामा लेखिएको यो व्रतकथामा बजारमा पाइने पुस्तकमा रहेका अध्यायभन्दा साना छन्।

गोमा ब्राह्मणीले पुत्र नवराजलाई परदेश नजान सम्झाउँदै गरेको दृश्यलाई व्रतकथामा यसरी उल्लेख गरिएको छ, ‘तँ गयापछि तेरी स्त्री चन्द्रावती पनि बस्न्या छैन । माइत जान्या छ। एस अर्थले जान्छु नभन ।’ भाषा अध्ययन गर्नेका लागि पनि यो पुस्तक स्रोत सामग्री बन्न सक्छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ । यो वर्ष आगामी माघ ११ गतेदेखि स्वस्थानी व्रत शुरु हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय