सरकार नै लाग्नुपर्छ सम्पदा जोगाउन

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकार नै लाग्नुपर्छ सम्पदा जोगाउन

 

 

 

 

मुलुकका विभिन्न गुम्बाबाट मूर्ति चोरी हुने समस्या बढ्दो छ। यो अहिलेको मात्र समस्या होइन। धेरै अगाडिदेखि नै मूर्तिचोरी भइरहेका छन्। पछिल्लो समय पुरातात्विक वस्तुहरू चोरीसम्बन्धी ऐन, नियम छन्। पुरातात्विक महत्वका वस्तुहरू देशबाहिर लैजान नपाउने कानुनी व्यवस्था छ।

मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउमाँ लैजाँदा पुरातात्विक विभागको अनुमति लिनुपर्ने हुन्छ। विदेश लैजाँदा पनि नेपाल सरकारले अनुमति दिनुपर्छ। तर, अनुमति नलिइ लैजाने क्रम बढ्दो छ। जनचेतनाको कमीका कारण पनि यस्ता पुरातात्विक वस्तुहरू चोरी भइरहेका छन्।

पुरातात्विक वस्तुहरू चोरीसम्बन्धी २ सय जति निवेदन विभागमा परेका छन्। त्यसको कार्यान्वयन पनि भइरहेको छ। उपल्लो डोल्पाबाट चोरेर विदेशमा बेचिएका कतिपय मूर्ति फर्काएका छौं। कतिपय फर्काउने तयारी भइरहेको छ। मुलुकका मूर्तिलगायत बहुमूल्य पुरातात्विक वस्तुहरू देशबाहिर कहाँ, के–कति छन् भनेर अध्ययन र खोजी भइरहेको छ। यो क्षेत्रमा काम गरिरहेका स्वदेशी तथा विदेशी संस्थासँग समन्वय पनि गरिरहेका छौं। प्राचीन सम्पदा राख्न खोज्नेहरूले जति पनि पैसा तिरेर यस्ता वस्तु किन्ने गर्छन्।

तस्करको गिरोह पनि सक्रिय छ। यस्तो गिरोहको प्रलोभनमा परेर पनि यस्ता सम्पदाहरू चोरी भइरहेका छन्। चोरी निकासी रोक्न पुरातत्व विभागले बेला–बेलामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ।

प्राचीन वस्तुहरू बाहिर जान नदिने र गइसकेका मूर्तिहरू कसरी ल्याउन सकिन्छ भन्नेतिर हामी लागेका छौं। मूर्तिलाई स्वदेशमा ल्याउन प्रमाण पनि खोजिरहेका छौं। यसका लागि पुरातत्व विभाग र विदेशस्थित राजदूतावास मात्र लागेर हुँदैन। यस्ता सम्पदालाई जोगाउन नेपाल सरकार नै लाग्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय