अनिश्चितकालका लागि स्थगित एमाले धादिङको बन्दसत्र

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अनिश्चितकालका लागि स्थगित एमाले धादिङको बन्दसत्र

नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित कालसम्मका लागि स्थिगित भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले संगठन विभागबाट निर्देशन आउनसाथ प्रक्रिया अघि बढ्ने बताउँदै मंगलबार बिहान आठ बजे सुरू गर्ने भनिएको बन्दसत्र स्थगित भएको बताएका छन्।

प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा नै विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध छ।

विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटासहितका नेतालाई बालकोट बोलाएका थिए।

आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुईजना प्रतिनिधि खटाउने सहमति भएको थियो। र, बन्दसत्र मंगलबार बिहान आठ बजेबाट सुरू गर्ने समझदारी भएको थियो।

अध्यक्ष ओली निवास बालेकाटमा भएको छलफलअनुसार सोमबार संगठन विभागले जिल्ला कमिटीको माइन्युट, प्रतिनिधि छनोटका कागजात झिकाएर अध्ययन थालेको थियो।

संगठन विभागको छलफलअनुसार फागुन १ गतेबाट बन्दसत्र सुरू गर्ने तयारी रहेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।

‘बन्दसत्र फागुन १ गतेबाट सुरू हुन्छ। प्रतिनिधिसम्बन्धी विवाद संगठन विभागले समाधान गर्छ। अध्यक्ष मण्डल जिल्ला कमिटीले तय गर्छ,’ उनले सेतोपाटीसँग भने।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन सुरू गर्ने जिम्मा संगठन विभागको हातमा पुगेकाले त्यहाँबाट निर्णय भएअनुरूप नै अगाडि बढ्ने जानकारी दिए।

‘यहाँको विवाद संगठन विभागमा पुगेको छ। उहाँहरूले अध्ययन गर्दै हुनुहोला,’ उनले भने।

एमाले धादिङमा पार्टी अध्यक्ष ओली निकट दुई गुटको लडाइँ छ। अध्यक्षमा मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्। दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो।

जिल्ला कमिटीले इन्चार्ज धर्मदत्त देवकोटाको नेतृत्वमा अध्यक्ष मण्डल बनाएको थियो। बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अध्यक्ष मण्डलको अध्यक्षता आफैं गर्न खोजेपछि विवाद सुरू भएको त्रिपाठी समूहले आरोप लगाएको छ।

अध्यक्ष मण्डल र प्रतिनिधि विवाद नसल्ट्याइ अधिवेशन सुरू गरेको भन्दै अधिकारी समूह नाराबाजी र धर्नामा उत्रिएपछि झडपको स्थिति सिर्जना भएको, एकजना कार्यकर्ताको हात भाँच्चिएको प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्तिमार्फत् बताएका थिए।

त्रिपाठी समूहले भने आफैं लडेर घाइते भएका सन्तोष खनाललाई झडपमा घाइते भएको भनेर सहानुभूति बटुल्न खोजिएको बताउँदै आएको छ।

संगठन विभागले  धादिङको जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र विभागका सचिव माधव ढुंगेललाई जिम्मा दिएको एक नेताले बताए। यद्यपि विभागले त्यसलाई बाहिर सार्वजनिक नगरिसकेको ती नेताले बताए।

WhatsApp-Image-2024-02-06-at-10.05.17-AM-1707195275.jpeg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय