विराटनगर । कोशी प्रदेशको सत्ता राजनीतिमा देखिँदै आएको निरन्तर उतारचढावबीच नेपाली कांग्रेसका नेता प्रदीपकुमार सुनुवार चौथोपटक मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार उनलाई प्रदेश सरकारको महत्त्वपूर्ण मन्त्रालय मानिने भौतिक पूर्वाधार विकास मन्त्री मा नियुक्त गरेका हुन्। यो मन्त्रालयले प्रदेशको कुल बजेटको करिब ४० प्रतिशत खर्च गर्ने गर्दछ।

सुनुवारको मन्त्री यात्रालाई कोशी प्रदेशको अस्थिर राजनीतिक अवस्थाको प्रतिविम्बका रूपमा हेरिएको छ। उनी पहिलोपटक २०८० असार २२ गते तत्कालीन मुख्यमन्त्री उद्धव थापाको मन्त्रिपरिषद्मा नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशपछि २१ दिनमै सरकार ढलेसँगै उनको पहिलो कार्यकाल छोटो रह्यो। त्यस बेला उनी बिना विभागीय मन्त्री मात्र बनेका थिए।
पुनः २०८० साउन १७ गते उद्धव थापाको दोस्रो कार्यकालमा सुनुवार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री बने। तर विश्वासको मत विवादमा परेपछि सर्वोच्च अदालतले सरकार बर्खास्त गर्दा उनको दोस्रो कार्यकाल ३७ दिनमै सकियो।
त्यसपछि २०८० असोज २७ गते केदार कार्की नेतृत्वको सरकार बनेपछि २०८० माघ २६ गते सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका थिए। उक्त सरकार २०८१ वैशाख २७ सम्म कायम रहँदा उनले करिब सात महिना मन्त्रीको जिम्मेवारी सम्हाले।
हाल २०८२ पुस २२ गते उनी चौथोपटक मन्त्री बन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व सम्हाल्न आइपुगेका हुन्। कांग्रेस र एमालेबीच २०८४ को निर्वाचनअघिसम्म आलोपालो सरकार नेतृत्व गर्ने सहमति अनुसार हाल कार्की नेतृत्वको सरकार सञ्चालनमा छ। तर केन्द्रको राजनीतिक समीकरण फेरिएमा कोशी सरकारको आयु प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।
को हुन् प्रदीपकुमार सुनुवार ?
२०२७ वैशाखमा ओखलढुङ्गाको खिजिदेम्बामा जन्मिएका सुनुवारले २०४३ सालको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन्। एसएलसीसम्म अध्ययन गरेका उनी २०५४ सालमा तत्कालीन खिजीखोला गाविसका अध्यक्ष बनेका थिए।
नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति हुँदै हाल केन्द्रीय सदस्य रहेका सुनुवार २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई पराजित गर्दै ओखलढुङ्गा प्रदेशसभा क्षेत्र १(१) बाट निर्वाचित भएका हुन्।
