काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरूले अब विशेष महाधिवेशन गर्नु आवश्यक नरहेको बताएका छन् । उनीहरूले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर नियमित महाधिवेशनको तयारी र आगामी आम निर्वाचनमा जुट्न अपिल गरेका छन् ।

कोशी प्रदेश सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै यो कुरा बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ कि पार्टीको केन्द्रीय कार्यसमितिले २०८२ पुस १६ गतेदेखि वडास्तरबाट सुरु हुने गरी पुस २६, २७ र २८ मा १५औँ नियमित महाधिवेशन गर्ने तालिका बनाएको थियो । तर क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम समयमा पूरा हुन नसक्दा सो मितिमा महाधिवेशन गर्न सम्भव भएन ।
यसपछि केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नियमित महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने तय भएकोले, त्यसअघि विशेष महाधिवेशन गर्नुको औचित्य समाप्त भइसकेको उनीहरूको निष्कर्ष छ ।
प्रदेश सभापतिहरूले सबै कांग्रेसजनलाई आपसी एकता कायम गर्दै नियमित महाधिवेशनको तयारी गर्न र २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न आग्रह गरेका छन् ।
