राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल गरेर उम्मेदवारी दिने समझदारी भएको छ। दुई दलबीच सिट बाँडफाँटबारे छलफल अन्तिम चरणमा पुगेको र सोमबार रातिसम्म सहमतिको टुंगो लगाउने तयारी भइरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस र एमालेबीच छलफल भएको थियो, जहाँ सिट बाँडफाँट गरेर संयुक्त रूपमा निर्वाचनमा जाने विषयमा सहमति भएको छ। यसअघि नै कांग्रेस–एमालेबीच आधा–आधा सिट बाँड्ने समझदारी रहेको उनले बताए।
उनका अनुसार आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटपछि मधेसवादी दलसहित सबै पार्टी मिलेर जाने विकल्पमा समेत छलफल अघि बढाइएको छ। यद्यपि अन्तिम निर्णय भने भइनसकेको र सोमबार साँझ शीर्ष नेताहरूबीच सहमति गरेर सचिवालय बैठकमा प्रस्ताव लैजाने तयारी छ।
राष्ट्रियसभाको रिक्त १९ सिटमध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। उम्मेदवारी दर्ता पुस २३ गते गर्नुपर्ने छ भने बाँकी एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
हालको छलफल अनुसार १८ सिटमध्ये नेपाली कांग्रेसले ७ सिट, नेकपा एमालेले ६ सिट, नेकपा (माओवादी केन्द्र) ले ४ सिट र जनता समाजवादी पार्टी नेपालले १ सिट पाउने गरी सहमति जुट्ने सम्भावना देखिएको छ। जनता समाजवादी पार्टी नेपालले औपचारिक रूपमा तालमेलको प्रस्तावसमेत गरेको छ।
एमाले सचिव राजन भट्टराईले पनि राष्ट्रियसभा निर्वाचनमा दलहरूबीच तालमेल गर्ने समझदारी भएको जानकारी दिँदै अन्तिम सहमति हुन बाँकी रहेको बताए।
सोमबार साँझ कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र कृष्ण सिटौला तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूबीच छलफल हुने तय भएको छ।
यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संविधान बनाउने र जोगाउने शक्तिहरूबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। कांग्रेसका नेताहरूका अनुसार संविधानको रक्षा गर्ने दलहरू मिलेर राष्ट्रियसभा निर्वाचनमा जाने विषयमा सकारात्मक संवाद भइरहेको छ।
नेपाली कांग्रेसले भने कम्तीमा ६ सिट र बढीमा ८ सिट पाउने दाबी गरिरहेको छ।
