२८ पुस, काठमाडौं।
नयाँ बानेश्वरस्थित संसद् भवन जलेपछि राष्ट्रिय सभाको बैठक अब सिंहदरबारमै बस्ने भएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार पारिँदैछ। हाल करिब ९० प्रतिशत काम सकिएको र बाँकी काम माघ ४ गतेअघि नै पूरा हुने उनले बताए।
सरकारले माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।
जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको खोजी गरिएको थियो। आन्दोलन २३ र २४ भदौमा भएको थियो। त्यसपछि बनेको अन्तरिम सरकारको सिफारिसमा भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको थियो।
संसद् सचिवालयका अनुसार आउँदो अधिवेशनमा विधेयक, अध्यादेश, संसदीय समितिका अध्ययन तथा वार्षिक प्रतिवेदन छलफलका लागि प्रस्तुत हुनेछन्। साथै सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव समेत पेश गर्न सक्नेछन्।
राष्ट्रिय सभामा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन हुने व्यवस्था रहेको छ।
