१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा असहमति भएपछि उज्यालो नेपाल पार्टी अलग भएको छ । त्यसका कारण यो पार्टीका समानुपातिक उम्मेदवार अब रहने छैनन् ।

उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा आफ्नै समानुपातिक बन्दसूची बुझाएको थिएन । अन्तिम दिन पुस १४ मा रास्वपासँग सहमति भएको बेला रास्वपाकै तर्फबाट सूची बुझाइएको थियो । तर अहिले पार्टी विभाजन भएपछि समानुपातिक सूची बुझाउने समय सकिइसकेको छ ।
अब उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ (प्रत्यक्ष चुनाव) मा मात्र उम्मेदवार उठाउनेछ । पार्टी अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् ।
रास्वपाको बन्दसूचीमा रहेका उज्यालो नेपालका १४ जना उम्मेदवारले अब रास्वपामै बस्ने वा नाम फिर्ता लिनुपर्नेछ । यदि उनीहरूले पुस २८ भित्र नाम फिर्ता लिए भने रास्वपाले नयाँ नाम थप्न पाउनेछ । तर उज्यालो नेपाल पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार भने कोही पनि रहने छैनन् ।
अध्यक्ष घिसिङले पनि सहमति हुन नसके प्रत्यक्षतर्फ मात्रै उम्मेदवार उठाउने स्पष्ट पारेका छन् ।
