उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँग एकता हुँदा आफूले अपमानित महसुस गरेको बताएका छन्। उनले यो कुरा पार्टीको केन्द्रीय समिति बैठक र पत्रकार सम्मेलन दुवैमा राखेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले कुलमानसँगको एकता भंग भएको घोषणा गरेपछि उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्ष बनाएको थियो।

घिसिङका अनुसार एकता भए पनि सम्मानजनक व्यवहार र सिट बाँडफाँट भएन। समानुपातिकतर्फ पठाएका नाम काटियो, नाम तल सारियो, जसले आफूलाई अपमान भएको महसुस गरायो।
उनले मन्त्री हुँदा पनि रास्वपाका नेताको “चोटाकोठा” धाउनुपरेको अनुभव सुनाउँदै एकता एकतर्फी ढंगले तोडिएको आरोप लगाए।
यता रास्वपाका एक नेताले भने कुलमानले धेरै पद, प्रत्यक्ष सिट र राजकीय जिम्मेवारी मागेको दाबी गरेका छन्। तर कुलमानले ती आरोप अस्वीकार गर्दै आफू साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताए।
‘मैले प्रधानमन्त्री वा सभापति मागेको थिइनँ, त्यो हल्ला मात्रै हो,’ उनले स्पष्ट पारे।
रास्वपा र कुलमानबीच पुस १४ गते एकता घोषणा भएको थियो। त्यतिबेला उनलाई दोस्रो वरीयताको उपसभापति बनाउने सहमति भएको बताइएको थियो। तर पछि काठमाडौं महानगरका मेयर बालेन शाहसहितको एकतामा भने कुलमान छुटेका थिए।
