ल्याण्डफिल साइटको विरोधमा प्रदर्शन, वडाध्यक्षले खुकुरी नचाएपछि तनाव

२०८२ पुष २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा महानगरपालिकाले वडा नम्बर–३३ पुँडिटारमा फोहोर फाल्ने ल्याण्डफिल साइट बनाउन लागेको विषयमा स्थानीयबासी र महानगरबीच सहमति हुन सकेको छैन। यसै कारण विवाद चर्किएको छ।

शुक्रबार स्थानीयबासीले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाउँदै अपशब्द बोलेपछि स्थिति झन् तनावपूर्ण बन्यो। अवस्था बिग्रन नदिन प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको छ।

वडाध्यक्ष पक्राउ परेपछि आक्रोशित प्रदर्शनकारीले उनको गाडी तोडफोड गरे र आगो लगाउन खोजे पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले खुकुरी नचाएको घटनाबारे अनुसन्धान गरी कानुनी कारबाही गर्ने जनाएको छ।

महानगरपालिकाले निजी कम्पनीसँग २१ वर्षको सम्झौता गरेर पुँडिटारमा ल्याण्डफिल साइट र फोहोर प्रशोधन केन्द्र बनाउने योजना अघि सारेको हो। तर स्थानीयबासीसँग कुनै छलफल नगरी निर्णय गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका छन्।

स्थानीयबासीले ल्याण्डफिल साइट बने स्वास्थ्यमा असर पर्ने, खोलाको पानी दूषित हुने र खेतीपातीमा नोक्सानी हुने भन्दै उक्त स्थानमा फोहोर फाल्न नदिने अडान राखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय