अन्तर्राष्ट्रिय समुदाय गुहारौँ रुसी सेनाबाट नेपाली फर्काउन

काठमाडौं : राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताएकी छन्।
बुधबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन्। उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भई युक्रेन र रसियाका सेनामा भर्ती भएको बताइन्।
उनले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांकसमेत सरकारसँग नहुनु लाजमर्दो भएको बताइन्। उनले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताइन्।
उनले भनिन्, ‘राहतको लागि पर्खिरहेको नेपाली, रुँदै गरेको नेपाली, रुस र युक्रेनको युद्धमा छन्। त्यहाँ अहिले पनि यो देशको बिडम्वना मान्नुपर्छ। प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भएर युक्रेन र रसियाको दुवैको पक्षबाट सेनामा गएका छन्। त्यहाँ सेनामा भर्ती हुनु भनेको नेपालीले नेपालीलाई मार्नका लागि तयार भएर जानु हो। हामी फर्काउन र उनीहरु फर्किन चाहन्छन् भने रेस्पोन्स नै नगर्ने नि हुन्छ? हामी के गर्न बसेका त ? हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ।’
सांसद पौड्यालले सरकार नेपाली जनताको आवाज नसुनीकन के हेरेर बसेको छ? भन्दै प्रश्न गरिन्।
