रंगीन काउली लहानमा फल्यो : किन्नेभन्दा हेर्नेको बढी घुइँचो

२०८० माघ २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रंगीन काउली लहानमा फल्यो : किन्नेभन्दा हेर्नेको बढी घुइँचो

 

सिरहा : लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले मानिसको घुइँचो लाग्न थालेको छ।

‘वैदेशिक रोजगारीमा हुँदा सात वर्षपहिले इन्टरनेटमा यस्तो काउली देखेको थिएँ।  स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ’, उनले भने, ‘परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ। राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु।’

उनले  एक किलोसम्मको काउली फलाएका छन्। ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्छ’, किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै उत्पादन गर्ने विचारमा छु।’

उनले सोमबार मात्र १६ किलो काउली प्रतिकिलो २०० रुपैयाँका दरले बिक्री गरेका थिए। खेतमा रंगीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय