पुस २६ मा बन्दसत्र र उम्मेदवारी, २७ मा चुनाव गर्ने कांग्रेसको प्रस्ताव

२०८२ पुष १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सम्भावित कार्यतालिकाको एउटा विकल्प सार्वजनिक गरेका छन्।

शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि सानेपास्थित पार्टी कार्यालय पुग्दा उनले पत्रकारहरूसँग कुरा गर्दै यो कार्यतालिका बताएका हुन्। उनका अनुसार केन्द्रीय कार्यसमितिले चाहेको खण्डमा यही तालिकाअनुसार विशेष महाधिवेशन घोषणा गर्न सक्छ।

महामन्त्री शर्माका अनुसार पुस २६ गते बिहान छोटो उद्घाटन कार्यक्रमपछि बन्दसत्र गर्न सकिन्छ। बन्दसत्रमा कांग्रेसको वर्तमान अवस्था, आर्थिक, सामाजिक र राजनीतिक विषय, जेनजी आन्दोलनले उठाएको सुशासनको मुद्दा र आगामी दशकमा कांग्रेसले बनाउने नेपालको परिकल्पनाबारे प्रतिवेदन पेस गरी छलफल हुनेछ।

त्यसै दिन दिउँसो २ बजेदेखि ४–५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने र भोलिपल्ट पुस २७ गते बिहान ७ बजेदेखि १२ बजेसम्म विद्युतीय मतदान गर्ने प्रस्ताव गरिएको छ। विद्युतीय मतदान भएकाले साँझसम्म नतिजा आइसक्ने शर्माले बताएका छन्।

यदि नेतृत्व चयन गर्न नसक्ने अवस्था आए पनि विशेष महाधिवेशनले पार्टी नफुट्ने उनले स्पष्ट पारे। उनका अनुसार पार्टी एकढिक्का राख्ने निर्णय गरेर अघि बढ्न सकिन्छ।

कांग्रेस विभाजित हुन सक्छ भन्ने आशंकालाई अस्वीकार गर्दै शर्माले भने, नेपाली कांग्रेसको जिम्मेवारी समाजलाई एकत्रित गर्ने भएकाले पार्टी कुनै हालतमा विभाजित हुँदैन।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै १५औँ महाधिवेशन स्थगन भएको र सर्वसम्मतिमै विशेष महाधिवेशनतर्फ पार्टी अघि बढेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय