विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका पछिल्ला सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। बारा, सिन्धुपाल्चोक र सिरहा जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बारा, कलैया उपमहानगरपालिका-१६ उत्तर झिटकैयास्थित सडकमा ना.८ ख २१९५ नम्बरको टिपरले ना.३० प ९८३० नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-७ बरेवा टोल बस्ने ६० वर्षीय बिष्णु थापाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी हस्पिटल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिन्धुपाल्चोक, चौतारा सागाँचोक गढी नगरपालिका-१० सुकुटेस्थित सडकमा बा.१९ च ९१२३ नम्बरको गाडी, बा.प्र.०२-०२७ प ८५६२ नम्बरको स्कुटर र बा.४२ प ४१६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक दोलखा बैतेश्वर गाउँपालिका-७ बस्ने २० वर्षीय प्रज्ज्वल तामाङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जना सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहा, कर्जन्हा नगरपालिका-३ जनक चोकमा ज.१२ प ५१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक धनुषा गणेशमान चारनाथ नगरपालिका-२ राधापुर बस्ने ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
