नयाँ’ गठबन्धनको बैठक आज मन्त्रालय भागवण्डा गर्न ‘

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नयाँ’ गठबन्धनको बैठक आज मन्त्रालय भागवण्डा गर्न ‘

 

 

काठमाडौं : मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो लगाउने बारे छलफल हुनेछ। यद्यपि आजको बैठकले मन्त्रालय भागबण्डाबारे टुंगो लाग्ने सम्भावना छैन।

सरकारमा सहभागी भएका चार दलहरूबीच  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ।

जसमा सरकारको नेतृत्व र राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने सहमति भएको छ। यस्तै राष्ट्रिय सभाको उपाध्यक्षमा भने नेकपा एमालेलाई सघाउन चार दलबीच सहमति भएको हो।

आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ।

यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमति भएको छ। सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेरै सरकारमा आउन आग्रह गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताएका छन्। एकीकृत समाजवादीका नेतासँग प्रधानमन्त्रीले आज छलफल गर्दैछन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। आज बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच बालुवाटारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनमत पार्टी पनि सरकारमा सहभागी हुन इच्छुक छ। अध्यक्ष सीके राउतले हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सरकारमा सहभागी गराउन आग्रह गरेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाएको छ। उसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको छ। यस्तै जनमतले मधेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ।

आज बस्ने गठबन्धनको बैठकमा उनीहरुलाई बोलाउने तयारी रहेको नेता श्रेष्ठले बताए।

जनता समाजवादी पार्टीले जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका थिए।

नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए।

अहिले प्रधानमन्त्रीले आफैँ  सबै मन्त्रालयको जिम्मा लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय