कपिलवस्तुमा पशुपक्षीमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो साढे २ बजे बुद्धभूमि नगरपालिका-२ पूर्वपश्चिम राजमार्गबाट उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको टोलीले बा. प्र. ०३-००१ ख १९९२ नम्बरको ट्रक शंका लागेर जाँच गरेको थियो। ट्रकभित्र २४ वटा गोरू थिए। गोरूका पुच्छर बाँधेर झुण्ड्याइएको, नाक डोरीले छेडिएको अवस्थामा फेला परेका थिए।दुइटा गोरूको सिङबाट रगत बगेको, ट्रकमा त्रिपालले छोपिएको अवस्थामा राखिएको अवस्थामा फेला परेका हुन्।
गोरूमाथि निर्दयी व्यवहार गरेको देखेपछि प्रहरीले ट्रक चालक विराटनगर उपमहानगर-३ मानगण चोकका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरी कुसाहा नगरपालिका-१३ नहरचोकका ५५ वर्षीय इर्साद आलम र २७ वर्षीय समिम आलमलाई पक्राउ गरेको हो।
बा.प्र.०३-००१ ख १९९२ नम्बरको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिइसकेको छ।
श्रोत:https://www.setopati.com/