के रवि लामिछानेमाथि इजलासमा हतियारधारी प्रहरीले दुर्व्यवहार गरेको हो?

२०८१ कार्तिक १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि हतियारधारी प्रहरीले इजलासमै दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।स्वतन्त्र कानुन व्यवसायी मञ्चले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै इजलासभित्रै लामिछानेमाथि हतियारधारी प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको हो।लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उपस्थित गराइएको थियो। सोही इजलासमा प्रहरीले उनलाई दुर्व्यवहार गरेको मञ्चको आरोप छ।मञ्चका अध्यक्ष अधिवक्ता यज्ञमणि न्यौपानेले आयोगमा बुझाएको पत्रमा लामिछानेलाई कानुन व्यवसायीसँग भेटघाट गर्न नदिएको, निरन्तर बयान नलिएर १४४ घण्टा हिरासतमा राख्दा ४ घण्टा मात्र बयान लिएको र तीनवटा मात्र प्रश्न सोधिएको उल्लेख छ। अदालत परिसरमा हातहतियारसहित दंगा प्रहरीबाट भेटघाटमा रोक लगाएको भन्दै पत्रमा प्रहरीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरेकाले छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ।

‘सम्मानित इजलासमा उपस्थित गराइसकेपछि कानुन व्यवसायीलाई पक्षसँग भेटघाट गर्न नदिएको विषयमा रवि लामिछानेले कानुन व्यवसायीसँग भेटघाट गर्न नदिएका निवेदनमा हस्ताक्षर गरेपछि इजलासभित्र उपस्थित हतियारधारी प्रहरी अधिकारीले केमा हस्ताक्षर गरेको हो भनी हप्काइ-दप्काइ गरी दुर्व्यवहार गरेको र इजलासभित्र हतियार बोकेका प्रहरी प्रवेश गरी हप्काइ-दप्काइ गर्ने काम इजलासभित्र समेत हुन्छ भने प्रहरीले आफ्नो कब्जा हिरासतमा रहँदा कुन हदसम्मको दुर्व्यवहार गरेको होला स्वतः अनुमान गर्न सकिन्छ। यो गम्भीर मानव अधिकारको उल्लंघन र सम्मानित इजलासभित्र हतियारधारी प्रहरी प्रवेश गर्नु स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेप र नियन्त्रणजन्य कार्य भएको हुनाले प्रहरी हिरासतमा रवि लामिछाने उपर जे पनि हुन सक्छ भन्ने अवस्थाको विद्यमानता रहेकाले उनको जीवनरक्षा गरी मानव अधिकार उल्लंघनको यस प्रकारको गम्भीर घटनामा संलग्न गृह प्रशासन तथा प्रहरी अधिकारी समेतमाथि आवश्यक छानबिन गरी कानुनी कारबाहीको माग गर्छु,’ निवेदनमा भनिएको छ।इजलासमा बहस भइरहँदा लामिछानेका कानुन व्यवसायीले दिएको कागजमा हस्ताक्षर गर्न लाग्दा प्रहरी अधिकृतले ‘केमा सही गरिस् तैंले?’ भनेर हप्कीदप्की गरेकाले मानव अधिकारको रक्षा गरी पाऊँ भनेर आयोगमा निवेदन दिएको अधिवक्ता न्यौपानेले बताए। तर त्यो दिन आफू इजलासमा उपस्थित नभएको उनले जानकारी दिए।

 

श्रोत: https://www.setopati.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय