पुरन्धारा झरना,पर्यटनको केन्द्र बन्दै
तुलसीपुर :पछिल्लो समय बबई गाउँपालिका–५ मा पर्ने पुरन्धारा झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबईमा मिसिन्छ। झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुन थालेको हो।
हाल आएर सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भीड लाग्न थालेको छ। झरनामा पुग्ने जो कोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ। बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको छ।
दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएका कर्मचारी कुलबहादुर बुढाले जानकारी दिए। बुढाका अनुसार दैनिक तीनदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना हेर्न र वनभोज खान आउँछन्।
बिदाको दिन झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या बढी हुन्छ। उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ। मोटरसाइकलको ३०, कार तथा जिपको २ सय र बसको २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
पहिले झरनामा कर्मचारीको व्यवस्था थिएन। अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको छ। सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुगेको छ।
झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलोपटक आएका २५ वर्षीय श्याम चौधरीले झरना आकर्षक भएको बताए। ‘यति राम्रो झरना होला भनेर सोचेको पनि थिइनँ’, उनले भने, ‘यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गरी वरपरको वातावरण सफा राख्नुपर्छ।’ तुलसीपुर उपमहानगर–६ रजौराकी राधा रजौरेले झरना संरक्षण तथा संवर्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिने बताइन्।
दंगीशरण गाउँपालिका–३ का ओमभक्त चौधरीले दश वर्षअघि पैदल हिँडेर झरना हेर्न आएकामा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताए। तुलसीपुर, हापुरे, सुर्खेत खण्डको ट्वाङ खोलाबाट आठ किमी दक्षिणपश्चिममा पर्ने उक्त झरनासम्म पुग्ने बाटो पक्की बनाउन सके बाह्रै महिना पर्यटक ल्याउन सकिने स्थानीयको भनाइ छ। झरना वरपर कुनै बस्ती छैन।
बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि गुरुयोजना बनाई पूर्वाधार निर्माणको काम थालिएको बताए। उनले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल भइरहेको बताए।
सयौँ वर्षको इतिहास बोकेको झरना क्षेत्रमा पहिले घनघोर जङ्गल र जङ्गलको बीचमा सानो बाटो थियो। स्थानीय बासिन्दा गाईवस्तु चराउन, घाँस दाउरा काट्न झरना आसपासमा गोठ बनाएर बस्थे। गोठमा बस्नेले झरना रहेको पत्ता लगाएका थिए। झरनादेखि एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ।
झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जंगली जनावर, चराचुरुंगी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गराउन सकिने यहाँ आइपुगेका पर्यटक बताउँछन्।