
दुईजनाको मृत्यु, टाटा सुमोले ठक्कर दिँदा एक घाइते
जलेश्वर : महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटा सुमोले गएराति पिपरा-१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको हो।
ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो। विपरीत दिशाबाट आउँदै साइकल ठक्कर दिँदा यादवको मृत्यु भएको हो।
महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटा सुमो पनि मटिहानी-४ स्थित सडक छेउमा पल्टिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ।