रूपन्देही प्रशासनले ल्यायो फिर्ता, व्यक्तिको नाममा पुर्‍याइएको घाटको जग्गा

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रूपन्देही प्रशासनले ल्यायो फिर्ता, व्यक्तिको नाममा पुर्‍याइएको घाटको जग्गा

गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको मसानघाटको जग्गा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बदर गरिदिएको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं १० मा रहेको  पितृ विसर्जन तथा शव दाहस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गर्न लागेपछि गत असोजमा उक्त घटना सार्वजनिक भएको थियो। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उक्त जग्गाको दर्ता बदर गरी जग्गा व्यक्तिको नाममा पुर्‍याउने गिरोहलाई समेतलाई कानूनी दायरामा ल्याउने तयारी गरेको जनाएको छ।

स्थानीय आमा समूहले २०४८ सालदेखि संरक्षण गरेको उक्त मसानघाटको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको समाचार प्रकाशन भएपछि प्रशासनले अनुसन्धान थालेको थियो।

मालपोत कार्यालयको अभिलेखअनुसार उक्त जग्गा २०७० साल वैशाख २८ गते अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्सुराम घिमिरेको नाममा दर्ता भएको देखिन्छ।

पढ्नुस् : घाटको सार्वजनिक जग्गा सुटुक्क व्यक्तिको नाममा

जिल्ला प्रशासन कार्यालयले लामो अनुसन्धानपछि गैरकानुनी ढंगले व्यक्तिका नाममा नामसारी समेत गरेको डेढ बिगाह क्षेत्रफलको सो जग्गा गत बुधवार सार्वजनिक कायम गर्ने निर्णय गरेको थियो।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आवश्यक कागजात र निर्णय प्रक्रियाहरु समेत हेर्दा उक्त जग्गा सरकारी जग्गा भएकोले सोहीअनुसार व्यक्तिका नाममा गरिएको गैरकानूनी दर्ता बदर गरिएको बताए।

‘सार्वजनिक जमिनलाई व्यक्तिको नाममा गराउने कार्यमा संलग्न व्यक्ति तथा पदाधिकारीहरूलाई कारबाही गर्न/गराउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

यो प्रकरणमा संलग्न सबैलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिइएको अर्यालले बताए।

‘प्रहरीले थप अनुसन्धान र अध्ययन गरेर सबैलाई कानूनको दायरामा ल्याउने छ,’ अर्यालले भने।

सार्वजनिक सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा मालपोत कार्यालयका कर्मचारीसमेत संलग्न भएको पाइएकोले को–को हुन् भन्ने खुलाउँदा अनुसन्धान प्रभावित हुने भएकाले यो विषयलाई अझै गोप्य राखिइको अर्यालले बताए।

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै घाँघरा खोला छेउमा रहेको साविक भुजौली ७ (क) को कित्ता नम्बर ६१ को सार्वजनिक जग्गा अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेको नाममा दर्ता भएको थियो। घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो।

रूपन्देहीका विभिन्न जग्गा सार्वजनिक बनाउने कार्यमा संलग्न घिमिरेको समूह समाचार सार्वजनिक भए यता फरार छ।

प्रमुख जिल्ला अधिकारी अर्यालकाअनुसार उक्त जग्गा अब बाँकी दर्ता प्रक्रिया अगाडि नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितिमै राखी कुनै व्यक्ति तथा संघसंस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो, रजिष्ट्रेसन, अंशबण्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरूलाई पत्राचार गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ।

सार्वजनिक जमिनलाई संरक्षणका लागि तारबार गरी छुट्याउने, सर्वसाधारणले देख्ने गरी ‘सार्वजनिक जग्गाको सूचना पाटी राख्न लगाउने लगायतका संरक्षणात्मक कार्य गर्न सिद्धार्थनगर नगरपालिकालाई लेखी पठाउनेसमेत निर्णय भएको अर्यालले बताए।

मालपोत कार्यालय बुटवलबाट २०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा दर्ता भएको पाइएको थियो। घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी गरेका थिए।

१ बिघा ११ कट्ठा ५ धुर क्षेत्रफल रहेको उक्त जमिनमा स्थानीय बासिन्दाले पितृ बिसर्जन स्थल (संसान घाट) को रूपमा प्रयोग गर्दै आएका थिए। उक्त जग्गा आफ्नो भएको भन्दै घिमिरेले एकमुष्ट ८ वर्षको तिरो बुझाएपछि स्थानीयले मसानघाटको जग्गा ब्यक्तीको नाममा गएको चाल पाएका थिए।

सिद्धार्थनगर– ४ मा रहेको आमा समूहले संरक्षण गरेको जग्गाको कागजपत्र पनि आमा समूहकै नाममा छ। भुमाफियाले जग्गा दर्ता गरेको समाचार सार्वजनिक भएपछि आमा समूह समेतले जग्गा दर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयमा धर्ना दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय