केबलकार निर्माण विवादले पेचिलो बन्यो पाथीभरामा

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

 

केबलकार निर्माण विवादले पेचिलो बन्यो पाथीभरामा

विराटनगर : हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित  पाथीभरा (मुक्मुमलुङ) मा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विवाद बढ्न थालेको छ।

दुई दशकअघिदेखि केबलकार निर्माण प्रक्रिया थालिने भनिए पनि विवादका कारण निर्माण शुरु हुनै सकेको छैन।

निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबलकार प्रालिले करिब ३ अर्ब रुपैयाँ लागतमा गत वर्ष नै निर्माण थाल्ने भनिएको थियो।

तर केबलकार निर्माण खारेजी संघर्ष समितिसहित ६ वटा संगठनले केबलकार निर्माणको विरोध गरेपछि केबलकार बनाउन शुरु गर्नै सकस भएको हो।

निर्माण कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनदेखि डीपीआर तयार गर्दासम्म सम्पूर्ण कुराको अध्ययन गरेकाले निर्माणमा समस्या नआउने दाबीसमेत गरेको थियो।

सरकारले निजी क्षेत्र यति होल्डिङस्‌लाई केबलकार निर्माणको जिम्मा दिएको छ। विवादका कारण सर्भेसमेत स्थगित गर्नुपरेको थियो।

अहिले फेरि केबलकार निर्माण गर्ने तयारी थाल्दै गर्दा केबलकार खारेजी संघर्ष समिति,  मुक्कुम्लुङ संघर्ष समिति, प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा र किराँत याक्थुङ चुम्लुङलगायत संघ संस्थाहरुले विरोध जनाउँदै आन्दोलनको तयारी थालेका छन्।

पाथीभरालाई लिम्बू मुन्धुमअनुसार मुक्कुमलुङ भनिने गरिएको छ।

केबलकार निर्माणले लिम्बू समुदायको मुन्धुमी पवित्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा नष्ट हुने केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू बताउँछन्।

आफूहरु विकासविरोधी नभएको बताउँदै उनले विकासको नाममा प्रकृतिको विनास नहोस् भन्ने भनाई रहेको बताए ।

‘हामी विकासविरोधी होइन तर विकासको नाममा विनास हुनुभएन,  यहाँ लिम्बू समुदायको ऐतिहासिक भूमि, अस्तित्व र इतिहाससँग जोडिएको छ,’ उनले भने, ‘यहाँ केही मानिसहरु व्यक्तिगत स्वार्थमा लागेर पैसा कमाउने उद्देश्यले विनास गर्न खोज्दै हुनुहुन्छ  त्यसविरुद्धको स्पष्ट आवाज र माग हो ।’

विगतका वर्षदेखि नै यो आवाज उठेको बताउँदै उनले सुविधा उपभोग गर्न धार्मिक तीर्थयात्रीहरु आउनेभन्दा यहाँको शक्ति महसुस गर्न आस्थाका साथ आउने गरेको बताए।

विनासले भोलिका दिनमा भगवानको पवित्र वासस्थान विस्थापित गर्ने भन्ने भय पनि रहेको बताउँदै उनले केबलकार बनिसकेपछि भगवानको शक्ति प्राप्त गर्न जानेभन्दा पनि मनोरन्जन, व्यापारिक केन्द्र जस्तो बनिने बताए।

‘यो क्षेत्र भनेको शक्तिपीठ हो, पवित्र धार्मिक क्षेत्र हो। यो कुनै पनि बहानामा विस्थापित र विनास गर्नु हुँदैन,’ उनले भने, झट्ट हेर्दा विकास जस्तो देखिन्छ तर विकासले त सकारात्मक प्रभाव पारेको हुनुपर्छ नि! तर यहाँ सकारात्मकभन्दा पनि नकारात्मक प्रभाव पारेको छ।’

स्थानीयको रोजीरोटीमासमेत प्रभाव पर्ने उनको भनाई थियो। केबलकार निजी कम्पनी भएकाले नाफामूलक निजी कम्पनीले समुदायको निम्ति हित नगर्ने उनले तर्क राखे।

वार्ता टोली पनि गठन भएको छ नि? भन्ने प्रश्नमा उनले वार्ताले कुन निष्कर्षमा पुग्ने भन्ने कम्पनीले अगाडि सार्नु हुन्छ त्यसमा निर्भर रहेको र कुनै पनि समुदायको अस्तित्व नामेट हुन्छ भने ठूला संरचनाहरु निर्माण हुनु हुँदैन भन्ने रहेको बताए। यसमा जग्गा अधिग्रहण प्रक्रियामासमेत घोटाला भएको उनको दाबी छ।

केबलकार निर्माणविरुद्ध जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको संघर्ष समितिको भनाई छ।

यता किराँत याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ति तुम्बापो पुर्खाहरुले बनाएर राखेको सामूहिक भूमिलाई सानातिना लोभ, लालचमा फस्दै पद, कुर्सीसँग साट्नेहरु सत्ता र शक्तिको मतियार रहेको बताउँछिन्।

आदिवासीको भूमिको रक्षा गर्नु पहिचानको रक्षा रहेको  र अस्तित्व रहेकोसमेत बताउँछिन् उनी। उनले मुन्धुमी पवित्र ठाँउलाई अतिक्रमण गर्न रोक्न आग्रहसमेत गरेकी छिन्।

कवि स्वप्निल स्मृति नाफाका लागि व्यापारिक योजना जनतामाथि लाद्ने काम बन्द गर्नुपर्नेमा जोड दिन्छन्। आउनेजाने भक्तजनहरुले हजारौँ वर्षदेखि पैदल हिँडेर उँधोउँभो गरेको मुक्कुम्लुङ (पाथीभरा)मा नाफाको खेती गर्न बन्द गर्नसमेत बताएका छन्।

रोजगारी र व्यवसाय शुन्य हुने सम्भावना

केबलकार निर्माण भएपछि व्यावसायिक हिसाबले पनि ताप्लेजुङ जिल्ला पछि पर्न सक्ने सम्भावना धेरै रहेको स्थानीयहरुको ठहर छ।

केबलकार सञ्चालनमा आएपछि तराई क्षेत्रबाट आउने भक्तजनहरु सीधै गाडीमा आउने र केबलकार चढेर दर्शन गरी  सोही दिन फर्किने हुँदा पनि व्यावसायिक हिसाबले जिल्लाले घाटा बेहोर्नुपर्ने अवस्था रहेको धारणा स्थानीय राजिव मावोहाङ राख्छन्।

त्यसो त रोजगारीसमेत गुम्ने भएकाले त्यहाँका करिब ४ सय युवा भरिया विस्थापित हुनुपर्ने अवस्था देखिन्छ। तल्लो फेदीदेखि माथिल्लो फेदीसम्मका होटल व्यवसायको रोजिरोटी चलिरहेको हुँदा केबलकार निर्माण भइसक्दा युवाले रोजगारी गुमाउँछन् भने स्थानीयले व्यवसाय गुमाउने सम्भावना रहेको स्थानीयहरुको तर्क छ।

दैनिक आउनेजाने भक्तजनहरुलाई त्यस क्षेत्रका लाठेले बोकेर पाथीभरा दर्शन गर्न पुर्‍याउँछन्। जसले गर्दा त्यस क्षेत्रका मानिसको घरगृहस्थीसमेत त्यसैबाट चल्ने गरेको छ।

त्यसो त केबलकार निर्माण प्रक्रिया शुरु गर्ने भनेपछि पछिल्लो समय संघर्ष समिति ढुक्कै पाथीभरा परिसरमा डयुटी बस्न थालेको छ। त्यस क्षेत्रमा एउटा पनि रुख काट्न नदिने भन्दै उनीहरु सामूहिक रुपमा ठाँउठाँउमा खटिएर बसेका छन्।

केबलकार बने के हुन्छ?

यता, केबलकार निर्माण भए पाथीभरा दर्शनका लागि सहज हुने तर्कसमेत आएको छ। केबलकार बनाउँदा अस्तित्व र प्रकृति दुवै विनास हुने तर्क एकातिर आएको छ भने बनिसकेपछि जिल्लामा पर्यटकको घुँइचो लाग्ने तर्क पनि आएको छ।

पत्रकार विराट अनुपम पाथीभरामा केबलकार बन्नुपर्नेमा जोड दिन्छन्। पूर्वाधार र सम्पदा मिलाएर जानुपर्नेमा जोड दिँदै उनले चीनको ग्रेटवालमा केवलकार चढेको अनुभव सुनाए। र केबलकार बनिरहँदा स्थानीयको रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने र स्थानीयको समेत लगानी सुनिश्चित हुनुपर्नेमा जोड रहेको छ।

वार्ता समिति गठन

असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा वार्ता टोली गठन भएको छ।

लामाको संयोजकत्वमा फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजङगा गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, केबलकार कम्पनीसमेत रहेको वार्ता टोली गठन गरिएको हो।

वार्ता टोलीले असन्तुष्ट पक्षसँग छलफल गर्ने र निर्णय गर्ने जनाएको छ। असन्तुष्ट पक्षको मागमा केन्द्रित रहेर चाँडै नै वार्ता गर्ने उल्लेख छ। असन्तुष्ट पक्षको कुरा नसुनी एकपक्षीय रुपमा अघि बढ्न नहुने भएकाले वार्ता टोली गठन गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय